ओलीको आरोप : संसद अधिवेशन अन्त्य गरेर एमाले फुटाउने षड्यन्त्र भयो

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को अधिवेशन अन्त्य गरेर आफ्नो दललाई फुटाउने षड्यन्त्र भएको दाबी गर्दै त्यसविरुद्ध एकजुट हुन पार्टी पंक्तिलाई अपिल गरेका छन् । सोमबार अबेर राति वक्तव्य जारी गर्दै उनले पार्टी फुटाउने षडयन्त्रविरुद्ध एकजुट हुन अपिल गरेका हुन् ।

केही समययता एमाले र कम्युनिस्ट आन्दोलनलाई नै विभाजन गरेर समाप्त पार्ने गम्भीर षड्यन्त्र भइरहेको ओलीको भनाइ छ । उनले पूर्वघोषित प्रतिबद्धताविपरीत प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन र एमालेलाई विभाजित गर्ने षड्यन्त्र भैरहेको जिकिर समेत गरेका छन् ।

नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन नसक्ने चेतावनी पनि उनले दिएका छन् ।

उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन् ।

ओलीले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि भएका सहमति र अहिले पनि भइरहेका प्रयासहरु पनि स्मरण गराएका छन् । उनले पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत आफू सम्बद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न पनि आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.