अफगानिस्तानमा राष्ट्रपति कार्यालय कब्जामा लिएसँगै युद्ध सकिएको तालिबानको घोषणा

0

काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबान बिद्रोहीले युद्ध अन्त्यको घोषणा गरेका छन् ।

अफगानिस्तान सरकार ढल्नुका साथै राष्ट्रपति अशरफ घानी देश छाडेर भागेपछि तालिबान बिद्रोहीले आफहरु विजय भएको दाबी गरेका हुन् ।

तालिबानले देशको मुक्ति अनि जनताको स्वतन्त्रता प्राप्त गरेको दाबी समेत गरेका छन् । विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्‍याउने आफूहरूले ठानेको तालिबानको प्रतिक्रिया छ ।

विद्रोहीले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन् । अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केपछि अफगानिस्तानमा त्रासको अवस्था छ । अफगानिस्तान छाडेर फर्कनेको काबुल विमानस्थलमा चाप बढेको छ ।

अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेका छ हजार सेनालाई विमानस्थल परिसरमा खटाएको छ । अमेरिकी तथा गठबन्धन सदस्यहरूलाई गैरसैनिक एवै सैनिक विमानमार्फत् उद्धार गर्न सेनालाई विमानस्थलमा खटाइएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् । आन्तरिक द्वन्द्वमा कहिल्यै अन्त्य नहुने अमेरिकी उपस्थितिलाई आफूले उचित ठहर्‍याउन नसक्ने उनको भनाइ छ ।

‘रक्तापात रोक्न देश छाडें’

राष्ट्रपति अघानीले रक्तपात रोक्नका लागि आफूले देश छाडेको प्रतिक्रिया दिएका छन् ।अफगानिस्तान छाडेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू त्यहाँ भएको भए तालिबान काबुल प्रवेश गरेपछि झडप हुन सक्ने र त्यसले लाखौँको ज्यान खतरामा पर्न सक्ने उल्लेख गरेका हुन् ।

देश छाड्ने कार्यलाई उनले कठिन निर्णय भनेका छन् । फेसबुकमा उनले काबुलमा झडप भएको भए करिब ६० लाख जनसंख्या रहेको सहरमा आतंक सिर्जना हुन सक्ने देखेर आफुले देश छाडेको उल्लेख गरेका हुन् ।

उनले तालिबानले बन्दुकको बलले जित हासिल गरेको उल्लेख गर्दै दिल जित्न भने नसक्ने बताएका छन् । अब अफगानिस्तानमा जनधनको रक्षा तालिबानको जिम्मेवारी भएको उनको भनाइ छ ।

उनले तालिबानलाई अफगानिस्तानको भविष्यका बारेमा योजना बनाउन र उक्त योजना जनतालाई बुझाउन सुझाव दिएका छन् । आफू सधैँ अफगानिस्तानको हितमा काम गर्ने घानीको प्रतिक्रिया छ ।

Leave A Reply

Your email address will not be published.