माओवादी केन्द्रको निर्णय : राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष दाहालको प्रस्ताव पारित

0

काठमाडौं : पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । 

आइतबार काठमाडौंमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले पार्टीलाई रूपान्तरण गरेर गुणात्मक फड्को मार्ने उद्देश्यका साथ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ ।

राजनीतिक प्रतिवेदनले केपी ओलीको प्रतिगामी कदम असफल भए पनि खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै संविधानको रक्षा र कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनकारी दिए ।

त्यस्तै राष्ट्रिय सम्मेलन अघि चारमहिनासम्म विभिन्न तहको सम्मेलन गर्ने निर्णय भएको उनले बताए । बैठकले संघियताको मर्मअनुसार जिल्ला समिति खारेज गर्ने र जिल्ला संयोजक समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले रिक्त पदपूर्तिको लागि स्थायी समितिलाई ७ दिनको म्याद दिएको छ । यस्तै बैठकले उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने, जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिनेलगायत निर्णय पनि गरेको छ ।

त्यस्तै माओवादीका हरेक संरचनामा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलितको सहभागिता अनिवार्य गर्ने विधानको प्रस्ताव पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तै वाम–लोकतान्त्रिक गठबन्धनलाई प्रतिगमनको खतरा र समयको माग भएसम्म जारी राख्ने र गठबन्धन सरकारलाई संसदको पूर्ण कार्यकालसम्म सफल ढङ्गले सञ्चालन गर्ने पनि निर्णय गरेको उनले बताए ।

बैठकले विभिन्न चार वटा प्रस्ताव पनि पारित गरेको छ । जसमा भारतीय एसएसबीले तार काटेर महाकालीमा जयसिंह धामी खसेको भन्ने निचोड निकाल्दै सरकारलाई यसबारे छानविन टोलीको प्रतिवेदन शीघ्र ल्याई कुटनीतिक पहल गर्न माग गरिएको छ ।

त्यस्तै बेलायतमा पूर्व गोर्खा सैनिकको अनसनबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट जनतालाई बचाउने अधिक्तम पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाको व्यवस्था गर्दै सुरक्षित स्थानमा लैजाने व्यवस्थान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

Leave A Reply

Your email address will not be published.