मेलम्चीमा फेरि बाढी : पुलसहित १७ घर बगे

0

काठमाडौं : गत असार १ गते आएको बाढीले जनधनको ठूलो क्षति पुर्‍याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई शनिबार रातिदेखिको बाढीले थप तहस नहस पारेको छ ।

बाढीका कारण आइतबार दिउँसोसम्म १७ वटा घर ढलेर बगेका छन् भने दुई वटा पुल पनि बगाएको छ । चनौटेमा रहेको रातोपुल र एउटा झोलुंगे पुल आइतबार बिहान बाढीले बगाएको हो ।

रातोपुल बगाएसँगै हेलम्बु क्षेत्रमा यातायातका हिसाबले सम्बन्ध विच्छेद भएको छ । उक्त पुलका कारण सातवटा वडामा आवतजावत रोकिएको छ ।

यस्तै हेलम्बु गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । मेलम्ची उर्लिरहेका कारण थप क्षति हुनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

त्यस्तै हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुल बगाएको छ । पाँच वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर मेलम्चीले बगाएको प्रहरीले जनाएको छ । ग्याल्थुम बजारका ४० घर जोखिममा परेका छन् ।

मेलम्चीमा फेरि लेदोसहितको बाढी आएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोलीले जलाधार क्षेत्रको अवलोकन गरेको छ । अवलकोनपछि गाउँपालिकाले माथिल्लो भागमा यसअघि असार १ मा बाढी आउँदा नदीमा थुप्रिएर बसेको माटो बगेर आउन थालेको अनुमान गरेको छ ।

अध्यक्ष शेर्पाका अनुसार भीमाथाङमामा थुप्रिएको माटो कटान गर्दै नदी बगिरहेको छ । उनले ठूलो पानी पर्‍यो भने माटो कटान थप बढेर जोखिम उच्च हुने बताए ।

यसअघि पुरिएका माटो पनि कटान गर्दै नदी बगेको देखिएको उनले बताए । सो माटो लेदोको रुपमा बाढीमा आएको हुनसक्ने अनुमान छ । सो क्षेत्रमा विभिन्न भागमा गएको पहिरोले पहाडी क्षेत्र छिया–छिया भएको देखिएको छ ।

Leave A Reply

Your email address will not be published.