मेलम्चीमा पुनः बाढी : रेडियो मेलम्चीको भवन बगायो

0

काठमाडौं : मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । शनिबार राति रेडियोको भवन बाढीले बगाएको हो । असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो ।

यस्तै हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातोपुल उच्च जोखिममा परेको छ । ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदि को सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको प्रहरीले जनाएको छ ।

नदीमा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। शनिबार राति काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको हो ।

गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको मेलम्ची र हेलम्बुमा शनिबार राति फेरि बाढी आएपछि स्थानीय त्रसित बनेका छन् । असार १ को बाढीबाट भएको क्षति र विस्थापितको पुर्नस्थापना हुन नपाउँदै पुनः बाढी आउँदा स्थानीय त्रसित भएका हुन् । 

यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षति भने नभएको बताइएको छ । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको प्रारम्भिक अनुमान गरिएको  छ। त्यसअघिको बाढीले हेलम्बु, मेलम्चीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो ।

Leave A Reply

Your email address will not be published.