कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका हुन् ।

उनले मुलुकमा विकास लगायत धेरै कुराको आवश्यक रहे पनि अहिले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा ल्याउनेमा रहेको धारणा राखे ।

प्रधानमन्त्री देउवाले नेपालमा कोरोनाको तेश्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको उल्लेख गरे । उनले सबै नागरिकलाई खोपको पहुँचमा पुर्‍याउने प्रतिबद्धता दोहर्‍याए । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उनले निजी क्षेत्रलाई आह्वान पनि गरे ।

उनले अहिलेको अर्थमन्त्री मेहनती र भिजन भएको भन्दै नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा सुधार गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान गर्न नसक्ने बताए । उनले उपभोकतावादी अर्थतन्त्रलाई उत्पादनमुलक अर्थतन्त्रमा बदल्ने चुनौती रहेको धारणा राखे । उत्पादन वृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न नसक्ने उनको भनाइ छ । उनले कोरोनाका कारण निजी क्षेत्रमा परेको असरलाई माथि उठाउन राहत कार्यक्रम ल्याउने बताए ।

त्यस्तै उद्योगी विनोद चौधरीले नेपाललाई नै दक्षिण एशियाली राष्ट्रमा नै लगानी गर्ने उत्कृष्ट गन्तव्य बनाउनका लागि प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने बताए । उनले मुलुकको बिकासका लागि स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश कुमार मोरले कोरोना महामारीका कारण निजि क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने कार्यक्रममा केही व्यवसायीलाई सम्मान गरिएको थियो । 

Leave A Reply

Your email address will not be published.