एमाले कार्यदल ब्यूँतियो : छलफल सकारात्मक भएको दाबी, आज पनि बैठक बस्दै

0

काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदल पुनः सक्रिय भएको छ ।

प्रतिनिधिसभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्कृय बनेको कार्यदल पुनः व्युँतिएको हो ।

कार्यदललको बैठक सोमबार साँझ सिंहदरबारमा बसेको थियो । बैठकले विवाद भएका बिषयहरुमा बुदाँगत रुपमा छलफल गर्ने सहमति गरेको एमाले नेता गोकर्ण बिष्टले जानकारी दिए । उनका अनुसार कार्यदलको बैठक मंगलबार दिउँसो १ बजे पुनः बस्ने छ ।

उनले बैठकमा पुराना कुरा नगरेको र छलफल नयाँ शिराबाट शुरु गरिएको बताए । कार्यदलको बैठकले एमालेभित्र सहमतिका लागि आशावादी हुने संकेत दिएको उनले बताए ।

त्यस्तै एमाले नेता भीम रावलले छलफल सकारात्मक रुपमा अघि बढेको र मंगलबार पनि छलफल हुने जानकारी दिए ।

यसअघि अध्यक्ष केपी शर्मा ओली समूहबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो ।

कार्यदलमा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् भने माधव समूहबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

Leave A Reply

Your email address will not be published.