प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस सकियो, अर्को पेशी २८ गते

0

काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाइ सकिएको छ ।

मुद्दामा पक्ष र विपक्षको बहस तथा एमीकस क्युरीको राय दिने क्रम सकिएसंगै सम्पूर्ण सुनुवाइ सकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सम्पूर्ण सुनुवाइ सकिएर अदालतले असार २८ गतेका लागि पेशी तोकिएको रिट दायरकर्ता अधिवक्ता कृतिनाथ शर्मा पौडेलले जानकारी दिए ।

जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनमाथि पक्ष र विपक्षका कानुन व्यवसायीको बहस र संवैधानिक इजलासले झिकाएका एमिकस क्युरीले राय दिने क्रम सकिएसँगै अब अदालतको निर्णय आउने उनले बताए ।

असार ९ गतेदेखि निरन्तर चलेको बसहमा रिट निवेदकका ३६ कानुन व्यवसायीले सुरुवाती बहस गरेका थिए । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासले ३२ घण्टा समय तोकेको थियो । जसमा रिट निवेदकलाई १५ र विपक्षीलाई १५ घण्टा समय दिएको थियो । २ घण्टा एमीकस क्युरीका लागि तय गरिएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध देउवासहित १ सय ४६ जना सांसदहरू सर्वोच्च आएपछि त्यसको सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको थियो ।

Leave A Reply

Your email address will not be published.