कोरोना खोप भेरोसेल खरीदका लागि चीनसँग सम्झौता

0

काठमाडौं : सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सरकार र सिनोफार्मबीच खोप खरिदका लागि सम्झौता भएको बताएका छन् ।

असार २४ गतेबाट खोप आपूर्ति शुरु हुने र साप्ताहिक रुपमा आउने विज्ञप्तिमा जनाइएको छ । २४ गते नै खोप लिन नेपाल एयरलाइन्सको जहाज चीन जाने बताइएको छ ।

‘पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको संझौताअनुसार २४ असारबाट आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले कति मात्रा खोप सम्झौता भएको हो भन्नेबारे भने जानकारी दिएको छैन । गैर खुला सम्झौता अर्थात ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट’ अनुसार खोप खरिदको सम्झौता भएको जनाइएको छ ।

असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइदै छ । हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ ।

अहिलेसम्म २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ प्रतिशत) ले दोस्रो मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.