सर्वोच्चको आदेश गम्भीर र त्रुटिपूर्ण : एमाले

0

काठमाडौं : नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई गम्भीर र त्रुटिपूर्ण रहेको ठहर गरेको छ । आइतबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकले यस्तो ठहर गरेको हो । फैसला त्रुटिपुर्ण भएकाले नै त्यस विरुद्धमा आफूहरु भ्याकेटमा गएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बारेमा उल्लेख रहेको र त्यो दलहरुको नितान्त आन्तरिक विषय भएको एमालेको निस्कर्ष छ । बैठकले एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक यही असार १६ गते काठमाडौं राख्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । 

बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेकोबारे पनि छलफल भएको छ । जनता र कार्यकर्ताको चाहनाअनुसार नेता नेपालको क्रियाकलाप मेल नखाएको बैठकपछि नेताहरुले बताए ।

यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका हुन् ।

एमालेको नेपाल र खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोरोना महामारी, प्राकृतिक विपत्ति र राजनीनिक आयामका विषयमा पनि छलफल भएको बताइएको छ । बैठकले पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.