एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायि कमिटीको निर्णय

0

काठमाडौं : नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको हो । पार्टी एकताका लागि लचिलो भएर अन्तिमसम्म प्रयास गर्ने बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेतामात्रै सहभागी थिए । यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासित गर्दै उपमहासचिव घनश्याम भुसाललगायत थप १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यस्तै, बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप–निर्वाचको बिषयमा पनि समीक्षा गरेको छ । 

पार्टी एकताका लागि यसअघि गठित कार्यदल अहिले अस्तित्वमा नरहेको तर आवश्यक परे त्यसलाई पुर्नगठन गर्न सकिने एमालेले जनाएको छ । उक्त कार्यदलका संयोजक भीम रावल पार्टी सदस्यबाट निष्कासनमा परेका छन् भने केहीलाई स्पष्टीकरण सोधिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र नेपालपक्षका दोस्रो तहका नेताहरुबीच सोमबार साँझ भएको वार्तामा एकताका लागि थप पहल गर्ने समझदारी बनेपछि १२ जना नेतामाथिको कारबाही तत्काललाई रोकिएको छ ।

बैठकले खोप उपलव्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्र प्रमुखलाई गरेको पत्राचारबारे आलोचना गर्ने ठाउँ कतै नभेटाएर राष्ट्रपतिको आलोचना गरिएको ठहर गरेको छ । 

नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलक भारत र चीन सहितका देशका राष्ट्रपतिसँग खोप उपलव्ध गराउन पत्राचार गरेकी थिइन्, जसको राजनीतिक वृत्तमा आलोचना समेत भएको थियो । 

Leave A Reply

Your email address will not be published.