इजरायलमा सत्ता परिवर्तनको प्रयासमा विपक्षी पार्टी

0

इजरायलको प्रमुख विपक्षी दलले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको विकल्पमा सहमतिको सरकार बनाउने प्रयास गरिरहेको छ ।

न्यू राइट पार्टीका नेता नाफ्ताली बेनेटले सहमतिको सरकार बनाउनका लागि आफ्नो पार्टीले प्रक्रिया थालेको बताए ।

योसँगै नेतन्याहूको नेतृत्व इजरायलमा अन्त्य हुने सम्भावना बढेको छ । नेतन्याहू इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने व्यक्ति हुन् । उनी विगत १२ वर्षदेखि देशको प्रधानमन्त्री छन् । उनी सन् २००९ देखि प्रधानमन्त्री रहँदै आएका छन् ।

न्यू राइट पार्टीका नेता नाफ्तालीलेले सरकार गठनका लागि मध्यमार्गी पार्टी यश अतित पार्टीका नेता यायर लेपिडसँग गठबन्धन निर्माणका सम्बन्धमा छलफल थालेका छन् । लेपिडले बुधबारसम्म आफ्नो प्रयासको नतिजा सार्वजनिक गर्ने छन् ।

तर प्रधानमन्त्री नेतन्याहूले भने सहमतिको सरकार बनाउने नयाँ प्रयासले इजरायललाई कमजोर बनाउने दाबी गरेका छन्।

घोटालाको मुद्दा खेपिरहेका नेतन्याहूले गएको मार्चमा भएको आम निर्वाचनमा बहुमत ल्याउन सकेका थिएनन् । पछिल्लो दुई वर्षमा इजरायलमा चौथोपटक चुनाव भएको हो ।

नयाँ प्रधानमन्त्री बन्ने प्रयासमा लेपिडलाई सहयोग गर्ने घोषणा गरेका नाफ्ताली दक्षिण पन्थी पार्टीहरुको गठबन्धन यामिनाका नेता हुन् ।

Leave A Reply

Your email address will not be published.