बन्दले जनजीवन प्रभावित, एकसठ्ठी पक्राउ

0

काठमाडौं, ३१ साउन । बन्द गराउँदै हिँडेका एकसठ्ठी जनालाई राजधानीका विभिन्न स्थानबाट आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
तीमध्ये पाँच जना तोडफोडमा संलग्न भएकै अवस्थामा थिए । त्यस्तै बल्खुबाट आठ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरी नायब निरीक्षक अम्बरबहादुर रावलले जानकारी दिनुभयो । बन्दकर्ताले राजधानीमा दुई बस तोडफोड गरेका छन् । त्यस्तै पत्रकार ऋषि धमला चढेको बा५च ४७७८ नंको कारमा पनि बन्दकर्ताले आक्रमण गरेका छन् ।
‘नेपालवाणी’ एफएम कार्यालयबाट फर्कने क्रममा वीर अस्पताल अगाडि आफ्नो सवारीसाधनमाथि आक्रमण भएको उहाँले राससलाई जानकारी दिनुभयो । संविधानको मस्यौदाप्रति विरोध जनाउँदै नेकपा–माओवादीसहित मधेस र जनजातिकेन्द्रित पार्टीले संयुक्त रुपमा आयोजना गरेको बन्दले जनजीवन प्रभावित भएको छ ।
यता, सप्तरीमा ‘समग्र मधेस एक प्रदेश’को माग गर्दै मधेसी मोर्चासहितका दलले आह्वान गरेको दुईदिने आमहडतालको आज पहिलो दिन बिहानैदेखि यहाँको जनजीवन प्रभावित भएको छ ।
सङ्घीय समाजवादी फोरम नेपाल, स्भावना पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टी र नेकपा–माओवादीलगायत विभिन्न दलका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा बसी सडक बन्द गराएका छन् । बन्दका कारण राजविराजबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने कलकारखाना, उद्योग, बजार पसल, शिक्षण संस्थासमेत बन्द छन् ।
यता, बनेपामा दुईदिने नेपाल बन्दको पहिलो दिन आज काभ्रेपलाञ्चोकको जनजीवन प्रभावित बनेको छ । बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डे, पनौतीलगायत क्षेत्रमा यातायातका साधन नचलेको त था बजार-पसल पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । बन्दका कारण शैक्षिक संस्था पनि प्रभावित भएका छन् ।

Leave A Reply

Your email address will not be published.