राष्ट्रपतिसँग शीर्ष नेताको डिनर बैठक

0

काठमाडौं, ३१ साउन । संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्षनेताले संविधान लेखनमा भएको पछिल्लो प्रगतिका बारेमा राष्ट्रपति डा रामवरण यादवलाई जानकारी गराउनुभएको छ । हिजो साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा पुगी उहाँहरुले राष्ट्रपति डा यादवलाई संविधानका अधिकांश बुँदामा सहमति भएको र उपयुक्त दिन तोकेर जारी गर्ने जानकारी गराउनुभएको थियो ।
प्रमुख राजनीतिक दलका शीर्षनेता, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति र संविधान मस्यौदा समितिका सभापतिले संयुक्त रुपमा संविधान लेखनका बारेमा भएको प्रगतिका बारेमा राष्ट्रपतिलाई जानकारी गराउँदै संविधान जारी गर्ने प्रक्रियाका बारेमा बताउनुभएको थियो । संविधान मस्यौदा समितिले संविधानको अन्तिम मस्यौदा तयार पारिरहेको सन्दर्भमा राष्ट्रपति डा यादवसँग छलफल भएको हो ।
राष्ट्रपतिसँगको भेटघाटपछि सञ्चारकर्मीसँग कुरा गर्दै संवाद समितिका सभापति डा बाबुराम भट्टराईले संविधान लेखनको पछिल्लो स्थितिबारे जानकारी माग भएकाले जानकारी दिन आफूहरु आएको बताउनुभयो । डा भट्टराईले भन्नुभयो, ‘संविधान लेखनको प्रगतिबारे जानकारी गराएपछि राष्ट्रपति डा यादवले खुसी व्यक्त गर्नुभयो र छिटो संविधान बनोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।’प्रमुख दलका शीर्षनेतालाई राष्ट्रपति डा यादवले छिटो संविधान लेखनको कार्य सम्पन्न होओस् भन्ने सदीक्षा व्यक्त गर्नुभएको र सबैको भावनालाई नयाँ संविधानमा समेट्नसमेत आग्रह गर्नुभएको थियो ।
संविधानमा सबै पक्षको भावना समेटियोस् र संविधान जारी भएपछि शान्तिको सुनिश्चितता कायम होओस् र त्यसरी अगाडि बढ्दा नै उपयुक्त हुन्छ भन्ने राष्ट्रपति डा यादवको सुझाव रहेको सभापति डा भट्टराईले जानकारी दिनुभयो । आफूहरुले हालसम्म भएको सबै प्रगति र प्रक्रियाबारे जानकारी गराएको बताउँदै सभापति डा भट्टराईले भन्नुभयो, छिट्टै नै संविधानको विषयवस्तुलाई टुङ्गो लगाउँछौँ, शीर्षनेता सम्मिलित विशेष समिति र मस्यौदा समितिले संयुक्तरुपमा नै बाँकी रहेका विवादित विषयलाई टुङ्ग्याउने काम भइरहेको छ । विवादित विषयमा छलफल भयो, सम्भवतः आज आइतबारसम्म सहमति गर्छौं । सोमबारसम्म मस्यौदा समितिबाट अन्तिम मस्यौदा संविधानसभामा प्रस्तुत गर्छौं र छिट्टै प्रक्रिया पु-याएर संविधान जारी गर्छौं भन्ने प्रतिबद्धता हामीले जनाएका छौँ ।
सो अवसरमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, संवाद समितिका सभापति डा भट्टराई, मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.