इजरायल–प्यालेस्टाइन हिंसा : राष्ट्रसंघ, अमेरिका र बेलायतद्वारा सर्वसाधारणको रक्षाको अपिल

0

एजेन्सी : इजरायल–प्यालेस्टाइनबिचको हिंसा बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले सर्वसाधारणको रक्षाका लागि अपिल गरेका छन् । हवाई आक्रमणका कारण भत्किएका भवनका भग्नावशेषबाट निकालिँदै गरेका बालबालिका तथा आक्रमणबाट जोगिन भाग्दै गरेका सर्वसाधारणको तस्बिर तथा भिडियोले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता पैदा भएको हो ।

इजरायल–प्यालेस्टाइनको हिंसा दोस्रो हप्तामा प्रवेश गरेको छ । गएको हप्ताको सोमबार (मे १०) देखि हिंसा जारी छ । तर युद्ध विरामको सम्भावना भने अझै न्यून देखिएको छ ।

अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २१२ जनाको ज्यान गएको छ । इजरायलमा दुई बालबालिकासहित १० जना मारिएका छन् ।

इजरायलले गाजामा मारिएका अधिकांश बिद्रोही लडाकु रहेको र सर्वसाधारण बिना नियत मारिएको बताएको छ । तर गाजामा नियन्त्रण कायम गरेको हमासले भने मारिने सबै सर्वसाधारण रहेको बताउँछ ।

सोमबार राति पनि दक्षिण तथा उत्तरबाट रेकट आएका कारण इजरायलमा साइरन बजेका थिए । इजरायलले आफ्नो प्रतिरक्षाका लागि हवाई आक्रमण जारी राख्ने पुनः बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई निशाना बनाउन छोड्नु पर्ने बताएका छन् ।

तर हमासले अहिले पनि आफ्नो आक्रमण लुकाउनका लागि सर्वसाधारणको प्रयोग गरेको हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले दुवै पक्षलाई सर्वसाधारण र बालबालिकाको रक्षाका लागि अपिल गरेका छन् । त्यसका लागि प्रजातान्त्रिक राष्ट्र भएकाले इजरायलसँग बढि जिम्मेवारी रहेको पनि उनले बताए । संयुक्त राष्ट्रसंघले मानवीय क्षतिसँगै गाजाका पूर्वाधारमा पुगेको क्षतिप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगडन (डब्लुएचओ) को आकश्मिक सेवा प्रमुख डा. माइक रायनले स्वास्थ्य सेवामा भइरहेका सबै आक्रमण तत्काल रोकिनु पर्ने बताएका छन् ।

जर्मन चान्सलर एङ्गेला मर्केलले पनि युद्ध अन्त्य गरि वार्ताका माध्यमबाट समस्या समाधान गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको कुराकानीको क्रममा आग्रह गरेकी छन् । तर इजरायलसँग आफ्नो रक्षाको अधिकार भने रहेको उनले बताएकी छन् । फ्रान्स तथा इजिप्टले पनि हिंसा अन्त्यका लागि तत्काल युद्ध विरामको माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.