आज मुस्लिम समुदायले ईद पर्व मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

0

काठमाडौं : रमदान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् ।

हिजरी संवतको रमदान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

इस्लाम धर्मावलम्बीको महान् चाड इद (इद–उल–फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिँदै उनले विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा यो चाड मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको मौलिक पहिचान भएको जनाएकी छन् ।

यसैगरी ईद पर्वका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने जनाउँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी सद्भाव र सहिष्णुताका साथ कोभिङ १९ का जोखिमप्रति सचेत हुँदै पर्व मनाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.