सामूहिक राजीनामा दिने तयारीमा माधव नेपाल पक्ष

0

काठमाडौं : एमाले खनाल र नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । आफू पक्षीय सांसदहरुले सामूहिक राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

शनिबार साँझ बसेको खनाल नेपाल निकट सांसदहरुको बैठकले २०७५ जेठ दुईमा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।

अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा दिन सांसदहरु तयार भएपछि थप छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सरकारमा निरन्तरता दिनु भन्दा अन्ततः सामूहिक राजीनामा दिने निर्णयमा खनाल नेपाल पक्षका सांसदहरु पुगेका हुन् । शनिबारको छलफलमा प्रत्यक्षतर्फका २० जना सांसदहरुले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी नेता माधवकुमार नेपाललाई बुझाएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली फागुन २८ यताको निर्णय रद्द गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।

Leave A Reply

Your email address will not be published.