प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

त्यस्तै बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको यसअघिको निर्णय अनुमोदन गरेको छ ।

प्रधानमन्त्री ओली प्रशासनिक, राजनैतिक र संवैधानिक हिसावले असफल भएको भन्दै कांग्रेसले यसअघि नै प्रधानमन्त्रीको राजीनामाका साथै आफ्नै नेतृत्वमा बैकल्पिक सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

त्यस्तै वर्तमान सरकारले संवैधानिक परिषद्को कार्यक्षेत्रलाई संकुचित गर्ने गरी संविधानको मर्यादा विपरीत ल्याएको अध्यादेशको विरोध गर्दै बैठकले सरकारले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ भने संवैधानिक परिषद्को बैठकमा काग्रेस सहभागी नहुने निर्णय पनि गरेको खाँणले बताए ।

बैठकले राष्ट्रपतिले शितल निवासलाई पार्टीको कार्यालय जस्तो बनाएको र दल सञ्चालन तथा व्यस्थापनमा राष्ट्रपति सहभागी हुनु उचित नभएको भन्दै दलको कार्यकर्ता जस्तो भूमिकामा नरहन आग्रह पनि गरेको छ ।

बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको प्रमुख सचेतक खाँणले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.