पत्रकार महासंघले बनायो आइसोलेसन सेन्टर

0

काठमाडौं : नेपाल पत्रकार महासंघले क्रियाशील पत्रकारका लागि आइसोलेसन सेन्टर निर्माण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको सन्दर्भमा अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकार तथा सञ्चारकर्मी पनि दोस्रो लहरको कोरोना भाइरसबाट नराम्ररी प्रभावित हुन थालेपछि आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।

महासंघका महासचिव रोशन पुरीका अनुसार महासंघले केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने १० बेडमध्ये ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । थप ५ बेडको निर्माण प्रक्रिया अगाडि बढेको छ ।

महासंघमा अभिलेखभएअनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये २५२ जना अहिले सक्रिय संक्रमित छन् । जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३०, उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ ।

महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको छ । सो क्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको महासचिव पुरीले जानकारी दिए ।

महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग महासंघ आग्रह गरेको छ । ‘कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघ सरकारको ध्यानाकर्षण गराउँदछ,’ महासंघले भनेको छ ।

Leave A Reply

Your email address will not be published.