आवश्यक अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन

0

काठमाडौं : सरकाराले आवश्यक परेको अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको दोस्रो लहरले देश आक्रान्त भइसक्दा बल्ल सरकार अस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारणमा जुटेको हो ।

सरकारले अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । कोरोना संक्रमणको महामारीले शय्या र अक्सिजन अभावमा संक्रमितहरुले ज्यान गुमाइरहेको खबर सार्वजनिक भइरहेको विपदको यो घडीमा बिभिन्न मन्त्रालय र सरकारका निकायहरुले गर्नुपर्ने काम निश्चित गरी त्यसको समयसीमासमेत तोकिएको छ ।

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार अक्सिजन आपूर्ति गर्न अक्सिजन उद्योग र अस्पतालबीच सम्बन्ध स्थापित गर्ने, आवश्यकता अनुसार अस्पतालहरुलाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिइएको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री ओलीले वैशाख २० गते गरेका सम्बोधनको कार्यान्वयनका सम्बन्धमा बिभिन्न कार्ययोजना बनाइएको छ । कार्ययोजना अनुसार अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट आवश्यक मर्मतसम्भार गरी वैशाख २४ गतेभित्र सन्चालनमा ल्याउन सम्बन्धित अस्पताललाई नै जिम्मेवारी दिइएको छ ।

यो काममा स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयलाई सहयोगीको रुपमा रहने छन् । सरकारी अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट मर्मतसम्भारका लागि आवश्यकताअनुसार स्रोत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.