खोपमा पेटेन्ट राइट छुट दिनुपर्ने पक्षमा अमेरिका

0

एजेन्सी : अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती सम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको बताएको छ ।

विश्व व्यापार संगठन (डब्लुटिओ) ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पती सम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको हो । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकाले बताएको हो ।

भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियोन थालिएको हो । यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने उनीहरुको भनाइ छ । तर औषधि उत्पादकहरुले भने यसबाट सोचिए जस्तो प्रभाव पर्नेमा शंका रहेको बताएका छन् ।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले ‘असाधारण समयमा असाधारण उपायहरुको’ माग हुने बताएकी छन् । तर खोपलाई लिएर सर्वमान्य निर्णयमा पुग्न डब्लुटिओ सदस्यहरुलाई समय लाग्ने सक्ने उनले बताएकी छन् ।

भारत र दक्षिण अफ्रिकाले गएको ६ महिनादेखि खोपको पेटेन्ट राइट पाखा लगाएर सबैलाई उत्पादन अधिकार दिनु पर्ने माग गरिरहेका झण्डै ६० देशको नेतृत्व गरिरहेका छन् डब्लुटिओ भित्र । डोनाल्ड ट्रम्पको शासन कालमा अमेरिकाले त्यसको विरोध गरेको थियो ।

यस्तै बेलायत र युरोपियन युनियन पनि विरोधमा थिए । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि उनी अघिका ट्रम्पले भन्दा फरक मार्ग लिएका छन् । चुनावी अभियानकै क्रममा कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइटमा छुट दिनु पर्ने बताएका बाइडेनले बुधबार त्यसलाई पुनः दोहोर्‍याएका हुन् ।

Leave A Reply

Your email address will not be published.