संसदविरुद्ध ठूलो घेराबन्दी भइरहेको छ : सभामुख सापकोटा

0

काठमाडौं : सभामुख सापकोटा सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदविरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरुको पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितका पक्षमा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएका हुन् ।

संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र बिभिन्न अभिव्यक्ति आउने गरेको भन्दै उनले यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने र यो प्रवृत्तिबीचको टक्कर भएको बताए ।

सापकोटाले अहिलेको टक्कार संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको जिकिर गरे । सभामुख सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने र आफुलाई  जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उल्लेख गरे ।

उनले देश र जनताको काम गर्न रोक्न जस्तोसुकै दबाब र प्रभाव आए पनि नरोकिने स्पष्ट पारे । उनले कानुन निर्माणमा संसद्को महत्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई प्रभावकारी ढंगले चलाउन प्रयास गर्ने समेत बताए ।

कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले सञ्चारमैत्री कानूनहरु निर्माणका लागि गम्भीर हुनुपर्ने र विस्तृत छलफल हुनुपर्ने बताए ।

त्यस्तै महासंघका निवर्तमान उपाध्यक्ष दिलिप थापा मगरले प्रेस स्वतन्त्रता र पत्रकारहरुको हकहितका लागि निरन्तर आन्दोलन गर्नुपर्ने बताए ।

कार्यक्रममा पुरानो कार्यसमितिलाई बिदाई तथा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.