हेलिकोप्टरको प्रयोग गरेर निभाइयो डढेलो

0

काठमाडौं : काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ । आइतबार बिहान लागेको डढेलो हेलिकोप्टरको प्रयोग गरेर अपराह्नपछि नियन्त्रणमा लिइएको हो । 

आइतबार बिहान करिब ९ बजेतिर बुढानीलकण्ठ नगरपालिका–१ तैलुङबाट आगलागी शुरु भएको थियो । करिब १ घण्टाकै बीचमा आगो फैलिएर बस्ती प्रवेश गर्ने जोखिम बढेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो । 

वनमा लागेको आगो नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको दमकल परिचालन गरिएको थियो । आगो निभाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निकुञ्जका कर्मचारी समेत गरी करिब २ सय जना परिचालन भएका थिए । 

दमकल मात्रैको प्रयोगले डढेलो नियन्त्रणमा लिन नसकिए पछि हेलिकोप्टरबाट आगो निभाउने प्रयास थालिएको थियो । आगो निभाउनका लागि सिम्रिक एयरको दुईवटा हेलिकोप्टर प्रयोग गरिएको थियो । 

दुईवटा हेलिकोप्टरले करिब २ घण्टासम्म पानी खसालेपछि निकुञ्जको जंगलमा लागेको आगो नियन्त्रणमा आएको सिम्रिक एयरका फिल्ड इञ्चार्ज रवीन्द्र अधिधकारीले जानकारी दिए । 

आगो नियन्त्रणका लागि शुरुमा बुढानीलकण्ठस्ति सब्रिना होटलको स्वीमिङ पुलबाट पानी ओसारिएको थियो । त्यसपछि वासिखुस्थित माछापोखरी र सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको रिजर्भ ट्याङ्कीबाट पानी ओसारिएको थियो । 

हेलिकोप्टरबाट २० बकेट पानी ओसारेर जंगलमा खन्याइए पछि आगो नियन्त्रणमा आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले जानकारी दिए । 

सिम्रिक एयरका फिल्ड इञ्चार्ज अधिकारीका अनुसार आगलागी नियन्त्रणका लागि यस वर्ष पहिलो पटक हेलिकोप्टरको प्रयोग गरिएको हो । गत पुसमा पाथीभरा जंगल क्षेत्रमा लागेको आगो मन्दिर नजिक पुग्न थालेपछि सिम्रिक एयरकै हेलिकोप्टर प्रयाग गरेर नियन्त्रणमा लिइएको थियो । 

त्यतिबेला विशेष प्रकारको बकेटमा जोरपोखरीबाट पानी भरेर जंगलमा खन्याइएको थियो । ५ बकेट पानी जंगलमा खन्याइए पछि पाथीभरामा लागेको आगो नियन्त्रणमा आएको थियो । 

आइतबार शिवपुरी–नागार्जुन निकुञ्जमा लागेको आगो नियन्त्रणमा पनि विशेष बकेट प्रयोग गरिएको थियो । आगो नियन्त्रणमा लिन तालिमप्राप्त पाइलट परिचालन गरिएको थियो । 

शिवपुरी–नागार्जुन निकुञ्जमा लागेको आगो नियन्त्रणमा लिन स्विट्जरल्यान्डबाट तालिम लिएका पाइलद्वय सिद्धार्थजंग गुरुङ र सुरेन्द्र पौडेल परिचालित भएका थिए । आगो निभाउने अपरेशनका लागि सिम्रिक एयरकाा दुईवटा हेलिकोप्टर दुई घण्टा उडेका थिए । 

सरकारी निकायको समन्वयमा आगो नियन्त्रणमा लिइए पनि अपरेशन भने आफ्नै खर्चमा चलाइएको सिम्रिक एयरका फिल्ड इञ्चार्ज अधिकारीले जानकारी दिए । ‘आगो निभाउन दुई घण्टा हेलिकोप्टर उडेको थियो । दुई घण्टाको अपरेशनमा ७ लाख रुपैयाँ जति खर्च हुन्थ्यो । तर, हामीले सामाजिक उत्तरदायित्वका हिसावले आफ्नै खर्चमा आगो निभाएका छौं,’ अधिकारीले भने । 

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । यद्यपि आगलागीबाट भएको भौतिक क्षतिबारे मूल्याङ्कन भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । 

अहिले देशका धेरै ठाउँका जंगलमा डढेलो लागेको छ । जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण समेत बढेको छ । राजधानी नजिकको जंगलमा आगो लाग्दा मात्रै हेलिकोप्टर प्रयोग गरिएको भन्दै सामाजिक अभियान्ताहरुले देशका अन्य ठाउँमा लागेको आगो निभाउन पनि हेलिकोप्टरको प्रयोग हुनुपर्ने बताएका छन् । 

Leave A Reply

Your email address will not be published.