राजनीतिज्ञ देवकोटाको निधन

0

काठमाडौं, २५ साउन । वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
जनैखटिराका कारण दुई सातादेखि बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत उहाँलाई निमोनियाको सङ्क्रमण पनि देखिएको थियो ।
देवकोटाका सहयोगी अनिल योगीका अनुसार बिहान ५ बजे अस्पतालमा उहाँको निधन भएको हो । उहाँका एक छोरा र दुई छोरी छन् ।
देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । देवकोटाको जन्म विसं १९८६ मा गोरखाको पण्डितगाउँमा भएको थियो ।
विसं २००७ को जयतु संस्कृतम् आन्दोलनका एक अगुवा देवकोटा राष्ट्रिय पञ्चायतको अध्यक्ष र पूर्वमन्त्री हुनुभएको थियो । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, राष्ट्रवादी अभियानका संयोजक हुनुहुन्थ्यो । साहित्यिक आख्यान लेखनमा पनि स्थापित देवकोटाले ‘उत्सर्ग प्रेम’ उपन्यासका लागि २०४४ सालमा मदन पुरस्कार पाउनुभएको थियो । यस्तै, साझा पुरस्कार, वेदनिधि पुरस्कार, भानुजस्ता पुरस्कार पाइसक्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.