बोलबममा छात्रछात्राको आकर्षण

0

साउन महिनाको सोमबार सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म लाग्ने बोलबम मेलामा उच्च माध्यमिक विद्यालय र स्नातक तहमा अध्ययनरत छात्रछात्राको सङ्ख्या अत्यधिक देखिएको छ ।
युवा उमेरका केटाकेटीमा साउनको सोमबार व्रत बसी शिवालयमा शुद्ध जल चढाए रोजे खोजेकै वर÷बधु पाइने धार्मिक विश्वासमा सुन्दरीजल आई जल लगेर पशुपतिनाथमा चढाउने क्रम बढेको हो । यही विश्वासमा सुकेधारास्थित ब्रुकलिन कलेजमा स्नातक तहमा अध्ययनरत छात्राद्वय शर्मिला तामाङ र कुसुम तामाङ पनि बोलबम मेला भर्न सुन्दरीजल आउनुभयो ।
तामाङ दिदीबहिनीले खुलस्त रुपमा इच्छा गरेको जोडी प्राप्तिका लागि व्रत गरी जल चढाएको स्वीकार गर्दै भन्नुभयो– “इच्छा गरेको जोडी प्राप्तिका लागि मात्र भनेर बोलबम गरेका त होइनौँ, यो उद्देश्य पनि पूरा हुन्छ भन्ने विश्वासका कारण पनि हामीले शिवभक्तिको यो मार्गलाई अपनाएका हौँ” – उहाँले भन्नुभयो ।
भोलेनाथ काँवरिया सङ्घको आयोजनामा भएको आजको जल अर्पण कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनले सुन्दरीजलबाट जल ल्याई आज पशुपतिनाथमा चढाएका छन् । साउन महिनामा लाग्ने श्रावणी मेला भर्न काठमाडौँसँग सीमा जोडिएका सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका मानिसको पनि भीड लागेको छ ।
यी जिल्लाबाट मेला भर्न बिहानै बस ‘रिजर्भ’ गरी भक्तजन काठमाडौँ आएका हुन् । धादिङको धार्केबाट मेला भर्न आउनुभएका रामबहादुर अधिकारी विगत १० वर्षदेखि यो यात्रालाई निरन्तरता दिएको बताउनुहुन्छ । “मनमा शान्ति र खुसी मिल्ने भएकाले एक दशकदेखि यो यात्रामा संलग्न हुन सुन्दरीजल आउने गरेको छु, कुनै कारणबस एक वर्ष आउन पाइएन भने मनमा असन्तुष्टि हुन्छ, यसैले निरन्तरता दिन्छु”–उहाँले भन्नुभयो ।
सिन्धुपाल्चोकको लामोसाँघुबाट तीन वर्षदेखि बोेलबम यात्रा गर्दै आउनुभएका श्रीलाल श्रेष्ठले आज आफ्ना छिमेकी मानबहादुर रायमाझीलाई पनि साथ लिई यात्रा गरेको जानकारी गराउनुभयो । उहाँले मनका इच्छा पूरा भएको अनुभव साथीलाई सुनाएको भरमा साथी पनि बोलबम यात्रा गर्न काठमाडौँ आएको बताउनुभयो ।
काठमाडौँ बाहिरबाट आउने अधिकांश भक्तजनको भीडमा पनि युवतीको सङ्ख्या धेरै देखिएको सङ्घका अध्यक्ष रामकुमार साहले सनाउनुभयो । “केटाकेटी उमेरकाले प्रेम गर्ने क्रम बढेको र सफलतामा परिणत गराउने कामना गर्न साउनमा सुुन्दरीजलबाट शुद्ध जल लिई पशुपतिनाथ मन्दिरमा चढाउन आउने रहेछन्” – उहाँले भन्नुभयो ।
स्थानीय नगेन्द्र सिम्खडा अरु समयमा पनि घुमघामका लागि उच्च मावि र क्याम्पसमा अध्ययनरत युवायुवती सुन्दरीजलमा बढी आउने गरेको बताउनुहुन्छ । “ती युवायुवती यो महिनामा बोलबम यात्रा गर्न पनि यो ठाउँमा आएका होलान्, यही गाँसेको प्रीति यहीँको जल लगी चढाएर शिवजीलाई खुसी पारी सफल बनाउने उनीहरुको लक्ष्य हो” – उहाँले भन्नुभयो ।
चितवन स्थायी घर भई हाल जोरपाटी बस्दै आउनुभएका अधिवक्ता दीपेन्द्र अधिकारी पनि श्रीमती र २० महिनाको छोरासहित सोमबार बिहान शुद्ध जल लिन सुन्दरीजलको सुन्दरीमाई मन्दिरमा उक्लिँदै हुनुहुन्थ्यो । बोलबम गरी पशुपतिनाथमा जल चढाउँदा यसअघिका कामना पूरा भएकाले यस वर्ष पनि निरन्तरता दिएको उहाँले सुनाउनुभयो ।
सुन्दरीमाई मन्दिरका पुजारी विष्णुप्रसाद थपलिया बोलबमका दिन मन्दिर क्षेत्रमा भीड लागे पनि व्यवस्थित हुन नसकेको गुनासो गर्नुहुन्छ । “तल मूल सडकमा प्रहरी, नेपाल स्काउट र स्वयम्सेवक पनि परिचालन गरिएको हुन्छ, यहाँ जल लिन आउने स्थानमा व्यवस्थित गर्न कसैको सहयोग भएको छैन, यसतर्फ आयोजक संस्थाको ध्यान जान जरुरी छ” – उहाँले भन्नुभयो ।
बोलबम सुरु हुनुभन्दा अघि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको यो ठाउँमा साउनमा सुनसान हुने गरेकामा अहिले मेलामय बन्ने गरेको उहाँले जानकारी दिनुभयो । साउनभरि नै फाट्टफुट्ट बोलबम यात्री आए पनि सोमबार र शनिबार भीड बढी हुने गरेको छ ।
काठमाडौँ वरिपरिका जिल्लाबाट मात्र नभई तराई र उत्तर भारतबाट समेत बोलबम यात्रा गर्न भक्तजन नेपालमा आउने गरेको सङ्घका अध्यक्ष साह बताउनुहुन्छ । “पशुपतिनाथलाई भारतमा रहेका द्वादश ज्योतिर्लिङ्गको शिरोभाग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा पुजिने भएकाले सुन्दरीजलमा बोलबम धामको निर्माण गरी प्रचारप्रसार गरे भारत मात्र नभई विश्वमै रहेका शिवभक्तको धार्मिक पर्यटकीय स्थलका रुपमा यो स्थान विकसित हुनेछ”–उहाँले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.