नेपालमै विद्युतबाट सञ्चालन हुने रासायनिक मल कारखाना खोलिनेछ : प्रम ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै विद्युतबाट सञ्चालन हुने रासायनिक मल कारखाना खोल्ने बताएका छन् ।

पशुपन्छी विकास मन्त्रालयले बिहीबार ललितपुरमा आयोजना गरेको पशुजन्य वस्तुको उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा कार्यक्रममा उनले नेपालमै विद्युतबाट सञ्चालन हुने रासायनिक मल कारखाना खोल्ने गरी डेडिकेटेड प्रोजेक्ट नै बनाइने बताएका हुन् ।

उनले बढी भएको बिजुलीबाट महँगो लागतमै भए पनि मल कारखाना खोली विदेशबाट मल आयातक‍ो परनिर्भरता अन्त्य गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न उत्पादन विविधता र बजारीकरण सरकारको  प्राथमिकता रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले पशुजन्य उत्पादनमा आत्मनिर्भर हुँदा किसानको आम्दानी र रोजगारी सिर्जना हुने धारणा पनि राखे ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले कोरोनाको रोकथाम गर्न सरकार सक्षम रहेपनि सतर्क भने हुनुपर्ने बताए । उनले कोरोना संक्रमण फैलन नदिन सरकारले दिने निर्देश पालन गर्न आग्रह गरे । उनले सरकारको एकमात्र लक्ष्य र राष्ट्रिय अभियान देश बनाउने नै रहेको भन्दै सवै पक्षसंग सहकार्य गर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरे । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा वार्षिक १ अर्ब ६० करोड गोटा अण्डा र २ लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.