यमनमा छ वर्षको युद्ध अन्त्यका लागि साउदी अरेबियाको नयाँ प्रस्ताव

0

एजेन्सी : यमनको झण्डै छ वर्षको युद्ध अन्त्यका लागि साउदी अरेबियाले नयाँ शान्ति योजना प्रस्ताव गरेको छ ।

उसले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथीविद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको हो ।

प्रस्तावमा राजनीतिक वार्ता शुरु गर्न र महत्वपूर्ण हवाई तथा जलमार्ग पुनः खोल्ने विषय पनि समेटिएको छ । साउदी विदेशमन्त्री फैसल बिन फरहानले यमनको ठूलो भूभागलाई नियन्त्रणमा लिएको हुथीहरूलाई पनि प्रस्ताव स्वीकार गर्न आह्वान गरेका छन् ।

उनले हुथीहरूले स्वीकार गर्ने बितिक्कै युद्धविराम कार्यान्वयनमा जाने पनि बताएका छन । तर हुथी विद्रोहीहरूले भने यसमा केही नयाँ नभएको प्रतिक्रिया दिएको छ । हवाई र जलमार्गमा लगाइएको नाकाबन्दी पहिला हटाउनुपर्ने उसको माग छ ।

देशव्यापी युद्धविराम गर्ने अमेरिकी योजना हुथीहरूले केही दिनअघिमात्रै अस्वीकार गरेका थिए । यमन सरकार र संयुक्त राष्ट्रसंघले योजनाको स्वागत गरेका छन् ।

विश्वकै खराब मानवीय संकट निम्त्याएको युद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राष्ट्रसंघ र अमेरिका पनि जुटेका छन् । अमेरिकाले यमनमा गर्दै आएको कारवाही फेब्रुअरीमै अन्त्य गर्ने घोषणा गरिसकेको छ ।

छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । ८० प्रतिशत जनसंख्या सहायता र संरक्षणको खाँचोमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.