४० वर्ष भारतीय जेल बसेका इलामका दुर्गाप्रसाद थुनामुक्त

0

काठमाडौं : ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना  (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । कोलकाताको दमदम केन्द्रीय कारागारमा दाजु (काकाका छोरा) प्रकाशचन्द्र तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद रिहा भएका हुन् ।

उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएको थियो ।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो । सोही अनुसार प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दुर्गाप्रसादलाई कारागारमुक्त गरिएको हो ।

शुक्रबार नै रिहा हुने भनिए पनि कानूनी प्रक्रिया पूरा नहुँदा एक दिन ढिलो गरी दुर्गाप्रसाद शनिबार छुटेका हुन् । अदालतले प्रत्येक ६–६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने समेत आदेश दिएको छ । अदालतले क्षतिपूर्तिबारे भने केही बोलेको छैन ।

हत्या आरोपमा दार्जलिङबाट पक्राउ परेका दुर्गाप्रसाद कुनै सुनुवाइबिनै ४० वर्षसम्म भारतका विभिन्न जेलमा बसेका थिए । यो घटनापछि भारतीय न्याय प्रक्रियाको चर्को आलोचना भइरहेको छ ।

दुर्गाप्रसाद २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए । तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर नफर्किएको प्रकाशचन्द्रले बताए ।

त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ । उनलाई दमदम कारागारमा उनका परिवारका सदस्यले केही दिनअघि भेटेका थिए ।

त्यो बेला उनको मानसिक अवस्था ठिक नभएको परिवारका सदस्यले पाएको उनका दाजु प्रकाशचन्द्रले बताएका थिए ।

Leave A Reply

Your email address will not be published.