माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

0

काठमाडौं : नेकपा एमालेले केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई पारित गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले फागुन २८ गतेको निर्णय अनुमोदन गर्दै केन्द्रीय समितिलाई महाधिवशेन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजन कमिटी गठन गरेको र आयोजक कमिटीको अध्यक्षमा केपी ओली र महासचिवमा ईश्वर पोखरेललाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

फागुन २८ गतेको बैठकले एमालेको दशौं महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो ।  बैठकले २६४ केन्द्रीय सदस्यको कार्य विभाजनको प्रस्ताव गर्न विष्णु पौडेलको संयोजकत्वमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

यस्तै प्रदेश कमिटी बनाउँदा प्रदेशका  इन्चार्ज सहइन्चार्ज संयोजक र सहसंयोजकको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने निर्णय भएको छ।

यस्तै बैठकले महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापनमा २२ अप्रिलका दिन मदननगर बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय पनि गरेको उनले बताए ।

प्रवक्ता ज्ञवालीले आत्मसमीक्षासहित आउने नेपाल समूहमा लागेका नेताहरुलाई पार्टीमा स्वागत गर्ने बताए । पार्टीको निर्देशन विपरीत नेपाल पक्षले एमालेकै ब्यानरमा राष्ट्रिय कार्यकर्ता भेला गरेको भन्दै उनले त्यसलाई पार्टीले गम्भीरताका साथ लिएको बताए ।

केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

सरकार टिकाउनकै लागि अनुचित सम्झौता नगर्ने र घेराबन्दी गरिएको अवस्थामा नयाँ शक्तिको रुपमा आउने बैठकले निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिए । बैठकले संसदीय दलको संशोधित विधान केन्द्रीय कमिटीबाट पारित भएको उनले बताए । 

Leave A Reply

Your email address will not be published.