एस्ट्राजेनेकाको खोप सुरक्षित रहेको ईयूको निष्कर्ष

0

एजेन्सी : युरोपेली युनियनको औषधि नियामक निकाय ‘ईएमए’ले कोरोना भाइरस विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहको निष्कर्ष निकालेको छ ।

ईएमएले गरेको अनुसन्धानमा खोपले कुनै हानी नगर्ने देखिएको हो । केही मुलुकहरुले रगत जम्ने समस्या देखिएको भन्दै यो खोपमा १३ देशले अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो ।

अक्सफोर्ड–एस्ट्राजेनेका खोप रगत जम्ने उच्च जोखिमसँग ‘नजोडिएको’ पाइएको हो । थोरै संख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्ण रूपमा नकार्न नसकिने उसको भनाइ छ । खोपका कारण रगत जम्ने खतरा नदेखिएको तर यसबारे थप अनुसन्धान जारी नै रहनेपनि ‘ईएमए’ले जनाएको छ ।

ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले खोपले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउने र यो सम्भावित जोखिमभन्दा निकै महत्वपूर्ण रहेको बताएकी छिन् ।

विश्व स्वास्थ्य संगठनले बिहीबार नै खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो । इटली, स्पेन र जर्मनी सहितका केही देशले खोपको प्रयोग पुनः शुरु गरेका छन् । युरोपमा १ करोड ७० लाखले खोप लगाएकामा ३७ जनामा रगत जम्ने समस्या देखिएको छ ।

Leave A Reply

Your email address will not be published.