माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु

0

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको भेलाको अहिले उद्घाटन सत्र चलिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध भेला गरेको सो समूहको भनाइ छ । भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता/कार्यकर्ता सहभागी भएको आयोजकको भनाइ छ ।

भेलामा केन्द्रीय समितिका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ । टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको एमाले नेपाल पक्षले जनाएको छ ।

भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । भेला बिहीबारसमम चल्ने छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेका थिए । अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.