राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिन जरुरी : राष्ट्रपति भण्डारी

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिन जरुरी रहेको बताएकी छन् । शीतल निवासमा मंगलबार बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

कोभिड–१९ महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावबारे सबै जानकारी रहेको भन्दै राष्ट्रपति भण्डारीले यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदान ठूलो रहेको पनि बताइन् ।

शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तन जस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई उनले आग्रह गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले जानकारी दिए । आफ्नो बंगलादेश भ्रमण बारेमा पनि राष्ट्रपतिले जानकारी गराएको केसीले बताए ।

बैठकमा देशको समसामयिक विषयमा पनि केही नेताहरुले कुरा उठाएको अध्यक्ष केसीले बताए । राष्ट्रपति भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

बैठकमा संसदमा रहेका सबै दल र पूर्व प्रधानमन्त्रीहरूलाई बोलाइए पनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,झलनाथ खनाल र बाबुराम भट्टराई भने उपस्थित भएनन् । हाल संसदमा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

Leave A Reply

Your email address will not be published.