ओलीलाई योगेशको जवाफ- कारबाहीले मुलुक र पार्टी अगाडि बढ्दैन, धम्की नदिनुस्

0

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

मंगलबार भेलाबारे जानकारी दिन ललितपुरको सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले बुधबारको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी हुन आग्रह गरेका हुन् ।

नेता भट्टराईले इतिहासले सोधेका प्रश्नको जवाफ ओलीले दिनुपर्ने भन्दै ओलीको पक्षमा भोलि दुईथोपा आँशु झार्ने मानिस समेत नहुने चेतावनी दिए ।

भेलामा सहभागी भए कारवाही गर्ने ओलीको चेतावनीको जवाफमा भट्टराइले कारबाहीले मुलुक र पार्टी अगाडि नबढ्ने भन्दै कारबाहीको धम्की नदिन ओलीलाई आग्रह गरे ।

पत्रकार सम्मेलनमा नेता सुरेन्द्र पाण्डेले भेलाले पार्टी एकतालाई कमजोर नभइ मजबुत बनाउने दाबी गरे । ओली पक्षले भेला विधान विपरित भनिरहेका बेला पाण्डेले पार्टीको विधानमा यस्ता भेला गर्ने, नेता कार्यकर्ताको भावना बुझ्ने र त्यसअनुसार विचारलाई एकरुपता दिने व्यवस्था भएको दाबी गरे ।

एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलामा पार्टी केन्द्रीय समिति सदस्यहरु, केन्द्रीय निकाय र विभागका सदस्य, प्रदेश समिति, पार्टीका पुर्व केन्द्रीय समिति सदस्यहरु, संघ तथा प्रदेशका सांसद लगायतको सहभागिता रहने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.