माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, एमालेमा गएका सांसदलाई कारबाहीको तयारी

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सत्ता समीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकले पार्टी छोडेर नेकपा एमालेमा गएका नेताहरुलाई आजसम्म स्पष्टिकरणसहित मूल पार्टीमा नफर्के कारवाही गर्ने तयारी गरेको छ ।

शनिबारको स्थायी कमिटी बैठकले २४ घण्टे अल्टिमेटम दिएर सरकारमा सहभागी सात जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । सो समय आज सकिँदैछ ।

माओवादीका तर्फबाट गृहमन्त्री राम बहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकूदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

माओवादीले कारबाही गरेमा उनीहरुको सांसद पद गुम्नेछ । राजनीतिक दलसम्बन्धी ऐनले पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा पद गुम्ने व्यवस्था गरेको छ ।

सरकारमा सहभागी ७ जना मन्त्रीलाई दलबाट निष्कासनको निर्णय गर्ने तयारी छ । दल त्याग गरेको व्यक्तिलाई सम्बन्धित दलको केन्द्रीय समितिले मात्रै कारबाही गर्ने व्यवस्था ऐनमा गरिएको छ ।

केन्द्रीय समितिले दलबाट निष्कासन गरेको जानकारी संसद् सचिवालयमा दिनुपर्ने व्यवस्था छ, संसद् सचिवालयमा आएको सूचना सभामुख वा उपसभामुखले संसदमा पढेर सुनाएपछि वा संसद् नचलेको अवस्थामा संसद् सचिवालयले सूचना पार्टीमा टाँस गरेपछि सांसदको पद जानेछ ।

Leave A Reply

Your email address will not be published.