माधव नेपाल पक्षले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

0

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो ।

शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, जनवर्गिय संगठनका केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश पदाधिकारीहरु केन्द्रीय विभागका सदस्यहरु र जिल्ला अध्यक्षहरु उपस्थित हुने नेकपा(एमाले) माधव समुहका नेता रावलले जानकारी दिए ।

त्यस्तै सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

जसमा प्रदेश १ को जिम्मेवारी भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा पार्टी कामको जिम्मेवारी भीम रावललाई दिइएको छ ।

केपी ओलीको पछिल्लो कदम पार्टीको विधान विपरीत रहेको र यसले एमालेलाई खण्डित पार्ने काम गरेको नेता रावलले बताए ।

यसअघि शुक्रबार केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएको थियो ।

Leave A Reply

Your email address will not be published.