ओलीको चुनौती : प्रधामन्त्रीबाट हटाउन सक्छ कसैले भने हटाएर देखाओस्

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन सके हटाएर देखाउन चुनौती दिएका हुन् ।

उनले भने, ‘लगभग दुईतिहाई लिएर सिंहदरबार पस्छौँ । १९ महिना पछि । अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस् । हटाओस् । जालझेल गरोस् । षडयन्त्र गरोस् । मोर्चा कसोस् । मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् ।’ 

उनले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताए । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडि बढ्ने भन्नेबारे सल्लाह गरिने उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रुपमा आह्वान गरे । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उनले बताए । 

प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडि बढ्न नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्तालाई पनि आग्रह गरे । एमालेहरुलाई पनि सच्चिएर आउन आग्रह गर्दै उनले ‘केपी ओलीलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस् लाग्ने’ पनि बताए ।

उनले भने, ‘म हिजो माओवादी केन्द्रमा रहेका नेता, कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहान्छु । हामीले एकता गरेको थियौँ । एकतामा कायम रहौँ । अगाडी बढौँ । म स्वागत गर्छु साथीहरुलाई । फेरीपनि वेलकम गर्छु । आउनुस् । सँगै मिलेर अघि बढौँ । यसो वक्तव्यबाजी सुन्छु कतै कतै । हामी फर्किन्छौँ, केपी ओलीलाई ठेगान लाउन फर्किन्छौ । खुट्टी देख्दै पत्याइयो । काम गर्न आउनुस् । पार्टी चलाउन आउनुस् । देश बनाउन आउनुस् । सच्चिएर आउनुस् । स्वागत छ । केपी ओलीलाई ठेगान लाउन आउनुभो भने तपाईको खुट्टामा बाटैमा ठेस् लाग्छन् ।’

प्रधानमन्त्री ओलीले दुईतिहाइको सरकार ढालेर टालाटुलीको सरकार बनाउन लागिएको भएपनि आफुहरुले जस्तो काम गर्ने पार्टी कुनै नभएको दाबी समेत गरे ।

Leave A Reply

Your email address will not be published.