माओवादी केन्द्र र जसपाबीच पेरिसडाँडामा छलफल

0

काठमाडौं : सत्ता समीकरणका विषयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको छलफलमा सरकार निर्माणका विषय र जसपाले उठाउँदै आएका मागबारे छलफल भएको हो ।

प्रधानमन्त्रीको पदबाट केपी शर्मा ओलीलाई कसरी हटाउने भन्नेमा छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले सरकार गठन र आफुहरुको मागका बारेमा कुराकानी भएको बताए ।

आफूहरूले रेशम चौधरी र संविधान संशोधनका कुरा उठाएको र त्यसमा समर्थन गरे माओवादीसँग सहकार्य हुन सक्ने उनले बताए ।

त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले जसपासँग केपी ओलीको विरुद्धमा संयुक्त सरकार बनाएर जाने एजेन्डामा कुराकानी भएको बताए । त्यस्तै, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे पनि कुरा भएको उनले बताए ।

वार्तालाई सार्थकता तुलाउन आफ्नो पार्टी र अन्य दलहरुसँग पनि निरन्तर छलफल गरिने उनको भनाइ छ ।

माओवादी नेताहरूले तीन दलको गठबन्धन भयो भने जसपाले उठाएका माग पूरा गर्न सहज हुने बताएका थिए । जसपाले यसअघि कांग्रेस र एमालेसँग पनि छलफल गरेको थियो । पछिल्लो समय सरकार गठनमा जसपा निर्णायक भूमिकामा देखिएको छ ।

Leave A Reply

Your email address will not be published.