उमेरका कारण म पछि हट्नेवाला छैन : प्रचण्ड

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उमेरका कारणले आफु पछि नहट्ने बताएका छन् । 

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कतिपयले ‘उमेरले कति दिन्छ र अब छोडिदिनुपर्छ’ भन्ने गरेको बताउँदै उमेरका कारण आफु पछि नहट्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘जनयुद्ध शुरु गर्ने बेलामा म ४२÷४३ वर्षको थिएँ । अब अहिले ६६÷६७ वर्षको भएँ । उमेरले कति दिन्छ भनेर पनि कतिपयले भन्छन्, ल अब उमेर भएकाले त छोडिदिनुपर्छ भन्छन् । तर म छोड्नेवाला छैन ।’

अझैपनि क्रान्तिमा अगाडि बढ्ने भन्दै अध्यक्ष प्रचण्डले आफुले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पारे । उनले भने, ‘एकचोटी फेरी कोर्स करेक्शन गरेर प्रतिक्रियावाद र अवसरवादका विरुद्ध लड्न अगाडी बढ्नुपर्छ भन्ने संकल्प मैले लिएको छु । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरी क्रान्तिमा अगाडी जानेमा छु । तपाईहरु यो कुरामा चाहीँ विश्वस्त रहनुहोला । म छोड्नेवाला चाहिँ छैन । म लड्नेवाला नै छु  ।’

त्यस्तै अध्यक्ष प्रचण्डले मर्न परेपनि तयार भएर केपी प्रवृत्ति माथि प्रहार गरेको बताए । केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान तथा मर्न परे पनि तयार रहेर केपी प्रवृत्तिमाथि प्रहार गरेको उनको भनाइ थियो । केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभुति भएको उनले बताए ।

देशको राजनीतिक परिवर्तनमाथि षड्यन्त्रले हमला भइराखेको भन्दै उनले सजग भएर त्यसविरुद्ध आफ्नै खुट्टामा उभिएर लड्नुपर्ने बताए । अरुसँग एकिकृत हुँदा आफ्नो साथीहरु छुटेर कमजोर देखिएको भन्दै उनले आगामी दिनमा पुराना साथीहरु एकताबद्ध गरेर अगाडि बढ्ने बताए ।

अध्यक्ष प्रचण्डले राजनीतिक उपलब्धी र आन्दोलनको रक्षाको निम्ति आफुले देशव्यापी अभियान चलाउने समेत बताए । दुई/चार वर्ष जनताको बीचमा गएर अभियान सञ्चालन गर्ने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.