मनाइयो सेना दिवस

0

काठमाडौं : नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सेनाले सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि एवं सेना दिवस मनाएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट सैनिक मञ्चस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् ।

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस–२०७७ आकृति प्रस्तुत गरिएको थियो ।

त्यस्तै सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धून प्रदर्शन गरेको थियो भने नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । सेना दिवसका उपलक्ष्यमा सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

त्यस्तै समारोहमा मुलुकका सातै प्रदेशका वेशभूषा र संस्कृति झल्कने नृत्य तथा झाँकी पनि प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गरेकी थिइन् भने विभिन्न कलात्मक प्रतियोगीतामा प्रथम र द्वितीय हुने सहभागीलाई पुरस्कृत एवं प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा लगायतको सहभागिता थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.