मानवीय क्षति कम गर्न रुख उपयोगी

0

विपद् र वातावरणका क्षेत्रमा अनुसन्धानरत अनुसन्धाताले हरियाली एवम् रुखले भूकम्पलगायत विपद्का बेलामा मानवीय क्षतिलाई कम गर्न सहयोग पुगेको बताएका छन् । जापानको योकोहामा विश्वविद्यालय र जापानी यामादा माहुरीपालन संस्थानको संयुक्त आयोजनामा आज भएको ‘मानव जीवन रक्षाका लागि हरित वातावरण र विपद् : काठमाडौँ उपत्यकाका वन जङ्गल’ विषयको विज्ञ प्रस्तुति कार्यक्रममा विश्वविद्यालयका अनुसन्धाता प्रा डा इमेरिता कजुइ फुजिवाराले जापान, नेपाल र भारतमा रुखले भूकम्पका समयमा भत्किएको भग्नावशेषलाई रोकी मानवीय क्षति हुन नपाएको अनुसन्धानबाट प्रमाणित भएकाले विपद्को जोखिम न्यूनीकरणका लागि रुख रोप्नु आवश्यक रहेको बताउनुभयो ।
“प्राकृतिक प्रकोपबाट मानवीय क्षतिलाई कम गर्न जरा तलसम्म पुग्ने जातका वृक्षरोपण गरी वन जङ्गल बढाउनुपर्ने तथ्य अनुसन्धानबाट प्रमाणित भएको छ, प्रकोपबाट बच्न प्रत्येक घर वरपर प्रशस्त रुख रोपिनु आवश्यक छ”– उहाँले भन्नुभयो ।
वनस्पति विभागका पूर्ववरिष्ठ वनस्पतिविज्ञ डा महेन्द्रनाथ सुवेदीले एक हजार ५०० प्रजातिका फूल फुल्ने काठमाडौँ उपत्यका जैविक विविधतामा विश्वकै उत्कृष्ट नमुना भएको बताउनुभयो । “पूरै बेलायतमा पनि एक हजार ५०० प्रजातिका फूल फुल्छन्, त्यति त ३६० वर्ग किमीमा फैलिएको हाम्रो उपत्यकामै फुल्छन्, यस्तो उपत्यका अहिले प्रदूषणमय बनेको छ, यसलाई मुक्त गराउन जडीबुटी र वृक्षरोपण गरिनु आवश्यक छ”– उहाँले भन्नुभयो ।
वन तथा भूसंरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले वैशाखको भूकम्पपछि बाढीपहिराको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाइएको बताउनुभयो । “वृक्षरोपणले प्राकृतिक प्रकोप न्यूनीकरणमा योगदान पु-याउने र भूकम्पका बेला रुखले भत्कन लागेको घरलाई छेक्दा बाँच्नेको सङ्ख्यासमेत धेरै भएको पाइएकाले वृक्षरोपण कार्यक्रमलाई विस्तार गर्न लागिएको छ, यस वर्षदेखि वार्षिक न्यूनतम एक करोड वृक्षरोपण गर्ने लक्ष्य निर्धारण गरिएको छ”– उहाँले भन्नुभयो ।
सो अवसरमा नेपालका लागि जापानी राजदूतावासका प्रतिनिधि मचिदा शिन्या, कार्यक्रम संयोजक जापानमा कार्यरत नेपाली अधिवक्ता बलराम श्रेष्ठ, संस्थानका नाका कियोशी, नेपालमा चार लाख ५० हजार वृक्षरोपण गर्नुभएका श्याम डङ्गोल र जापानी मिजिमातोलगायतले विपद्बाट मानवीय क्षति न्यून गर्न वनजङ्गल वरदान साबित भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.