पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज, ओलीविरुद्ध अविश्वास प्रस्ताव आउने सम्भावना

0

काठमाडौं : प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च अदालतको आदेश अनुसार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक शुरु हुन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् । विधेयक अधिवेशनका रुपमा रहने यो अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन रहेको ३८ विधेयकलाई अघि बढाउन सक्ने कार्यदेश छ ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव आउने र नयाँ प्रधानमन्त्री चयन हुने सम्भावनासमेत रहेका कारण आज शुरु हुन लागेको संसद् अधिवेशनलाई उत्सुकतापूर्वक हेरिएको छ ।

अधिवेशनको पहिलो दिन राष्ट्रपतिको सदन आह्वानसम्बन्धी सन्देश वाचन, विगतमा जारी भएका अध्यादेश अनुमोदनका लागि प्रस्तुत, दलका शीर्षनेताको शुभकामना मन्तव्य र यसबीचमा निधन भएका सांसद तथा पूर्वसांसदको सम्मानमा शोक प्रस्ताव प्रस्तुत जस्ता विषय कार्यसूची तयार भएको छ ।

नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेपनि सर्वोच्चले त्यसलाई खारेज गरेपछि बैठक शुरु हुन लागेको हो ।

प्रतिनिधिसभामा नेकपाका सभामुुखसहित १ सय ७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ सांसदको प्रतिनिधित्व छ । नेकपाका सानु शिवाको निधनपछि एक पद रिक्त छ भने काँग्रेस र जसपाका दुईदुई सांसद अदालतको आदेशनुसार निलम्बनमा छन् ।

Leave A Reply

Your email address will not be published.