प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने भएका हुन् ।

सो अवसरमा सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने कार्यक्रम रहेको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिए ।

दुई दिनसम्म निरन्तर भएको वार्तामा विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाउनेसहितका तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

सहमति अनुसार विप्लव समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । त्यस्तै पक्राउ परेका विप्लव समूहका सबै कार्यकर्ता पनि रिहा हुने भएका छन् ।

विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै विप्लव समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।

प्रहरीको तथ्यांक अनुसार विसं २०७५ फाल्गुन १० गतेदेखि २०७७ मङ्सिर २८ का बीचमा सो समूहका झण्डै २ हजार नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । त्यसमध्ये झन्डै १ हजार ९०० लाई मुद्दा दायर गरिएको छ । एक सय भन्दा बढी पूर्पक्षका लागि कारागारमा रहेका छन् ।

May be an image of text
Leave A Reply

Your email address will not be published.