मलाई मधेश पस्न रोके पनि पानी नरोक्नुस् : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका दुईको कुसुमटारमा प्रधानमन्त्री ओलीले आयोजनाको शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत, चिनियाँ राजदूत होउ यान्छी लगायतको टोली पनि उदघाटन कार्यक्रममा सहभागी थिए ।

मरिन डाइभर्सनबाट मध्यतराईमा सिँचाई र २८ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । सुनकोशी नदीको पानीलाई करिब १४ किलोमिटर लामो सुरुङबाट मरिन नदीमा जोडेर आयोजना बनाउन लागिएको हो ।

साथै धनुषा महोत्तरी, सर्लाही, रौतहट र बाराका १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो । आयोजनाका लागि सरकारले २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सुनकोशी-मरिन डाइभर्सनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सो आयोजनाको पानी नरोक्न आग्रह गरे ।

उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई तराई-मधेसमा त्यो खबर लैजान अनुरोध गरे । उनले भने, ‘मलाई मधेसमा पस्न नदिए पनि हुन्छ । तर, पानी चाहिँ नरोक्नुहोला ।’

आफूलाई केही मानिसहरूले मधेसविरोधी भने पनि मधेसका खेतमा पानी पुर्‍याउने कामको शुभारम्भ आफूले गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

Leave A Reply

Your email address will not be published.