फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७२३ वर्गकिमी

0

पोखरा : पोखराको फेवातालको सीमा निर्धारण गर्ने काम पूरा भएको छ । चारकिल्ला निर्धारण कार्य सम्पन्न भएसंगै यसअघि देखिँदै आएका समस्या हट्ने विश्वास गरिएको छ ।

गण्डकी प्रदेश सरकारको प्रयासमा गत कात्तिक २ गते गठन गरिएको फेवातालको चार किल्ला निर्धारण तथा सीमांकन समितिले तालको सिमांकन पूरा गरेको हो । सिमांकन सँगै अब फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर कायम भएको र तालको सीमारेखाको परिधि १८ किलोमिटर हुने समितिका संयोजक पुण्यप्रसाद पौडेलले जानकारी दिए ।

अब फेवातालको चार किल्ला पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुर कायम भएको छ । त्यस्तै बीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन, कायम भएको छ ।

त्यसैगरी फेवातालको तल्लो तटीय क्षेत्र अन्तर्गत ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतारा, सेदी, खपौदी, लामीडांडा, अनदु समेतको क्षेत्रमा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सीमाना मानिने भएको छ ।

फेवातालको मुहानतर्फ मोरेवगरको माछापोखरीबाट उत्तरपूर्वतफ हर्पन खोला पार गरी भकुण्डे खोलाको अन्तिम घुम्ती नजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भाग हुँदै पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटेर पामे घांटीछिना मोटरवाटोसम्म कायम गरिएको छ । सिमांकन तथा नक्सांकन सहित सीमा निर्धारण गरिएकाले अब तालको सिमाबारे विवाद हटेको छ ।

संघीय सरकारको निर्णयानुसार फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्गन गर्न तथा फेवातालको दीर्घकालीन संरक्षण एवम् समुचित प्रयोग गर्न सुझावसमेत दिन समिति गठन भएको थियो ।

समितिले तयार पारेको प्रतिवेदन गत फागुन २ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश भएर मन्त्रिपरिषदबाट पारित भएको थियो ।

समितिले पहिलो चरणको काम पूरा गरे पनि फेवातालको गुरुयोजना बनाउने काम भने बाँकी रहेको छ ।

समितिले सर्वसाधारणले भोगचलन गर्दै आएको जग्गामध्ये ५ सय ४० रोपनीको मुआब्जा दिन सिफारिस गरेको छ भने फेवाताल संरक्षण क्षेत्रमा पर्ने ३ सय ६१ रोपनीमध्ये १ सय ६१ रोपनी जग्गाको मुआब्जा दिनुपर्ने ठहर गरेको छ ।

Leave A Reply

Your email address will not be published.