भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा

0

बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित की १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा गरिएको छ ।

सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक पदम बहादुर थापालाई प्रहरी नायब निरीक्षकमा तथा इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाका प्रहरी जवान नर बहादुर थापालाई प्रहरी हवल्दारमा बढुवा गरिएको हो ।

दुवै जनालाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, संशोधनसहित परिच्छेद ४ को नियम ३९ को देहाय क बमोजिम एक तह बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् । उनीहरुलाई प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका हुन् ।

बढुवा भएका प्रहरी नायव निरीक्षक थापाले भागरथी भट्टको जबरजस्ती करणी पछि हत्या भएको घटना, कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक तथा प्रहरी जवान रामबहादुर साउदलाई तस्करको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना तथा कञ्चनपुरको पुनर्वास नगरपालिका–१ की ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न अहम भूमिका निर्वाह गरेका थिए ।

यसैगरी प्रहरी हवल्दार थापाले तीन वटै घटनाका साथै बझाङको मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा खटिई आरोपीलाई पक्राउ गर्न भूमिका निर्वाह गरेका थिए ।

नगदसहित पुरस्कृत हुनेमा डिआइजी सुवेदीसँगै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक पञ्च कुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला, दार्चुलाका प्रहरी जवान अशोक बहादुर कुँवर छन् ।

Leave A Reply

Your email address will not be published.