प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सकियो बहस, अर्को पेशी ११ गते

0

काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । एमिकस क्युरीका पाँचै जना सदस्यले राय दिएपछि बहस सकिएको हो । शुक्रबार एमिकस क्युरीका तर्फबाट गीता पाठकले राय दिएकी थिइन् ।

बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट दिन आदेश दिएको छ । मुद्दाको अर्को पेशी आउँदो ११ गते तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ११ गतेपछि फैसलाको प्रक्रिया शुरु हुने र त्यसपछि जति बेला पनि अदालतको फैसला आउन सक्ने इजलासमा जानकारी गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ थान रिट निवेदन परेका थिए ।

सर्वोच्च अदालतमा पुस ७ गते नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरु र अन्य विभिन्न व्यक्तिले रिट दायर गरेका थिए । रिट निवेदनमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ चलिरहेको थियो ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.