वर्तमान सरकारले लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान नमिच्ने बताएका हुन् ।

 प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन ।’

सरकार जनताको अभिमतभन्दा विपरीत नजाने र जान नदिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए । लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीँ कतैबाट हुन नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले भ्रष्टाचार नगर्ने र सुशासन कायम गरेर छोड्ने दावी पनि गरे । ‘सरकार जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्दैन । सुशासन कायम गरेर छोड्छ ।’

शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न पक्षलाई संवादको माध्यमबाट आउन प्रधानमन्त्री ओलीले आह्वान गरे ।

देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले तोकिएकै समयमा चुनाव हुनुपर्नेमा समेत जोड दिए ।

उनले राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै अर्को वर्षसम्म नेपाल अल्पविकसित देशबाट विकासशील राष्ट्रमा प्रवेश गर्नेसमेत बताए ।

Leave A Reply

Your email address will not be published.