भागरथी हत्या प्रकरणका अभियुक्त सार्वजनिक

0

बैतडी : भागरथी भट्टको हत्या प्रकरणमा ठुलो सफलता मिलेको नेपाल प्रहरीले दाबी गरेको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले यस्तो दाबी गरेको हो । यद्यपि अनुसन्धान भने जारी नै रहेको प्रहरीको भनाइ छ ।

लामो समय बितिसक्दा पनि भागरथी हत्या प्रकरणको दोषी पक्राउ नपरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला नेपाल प्रहरीले एक आरोपीलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानीय सनातम धर्म मावि मै कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट रहेका छन् । दिनेश भागरथीका छिमेकी समेत हुन् ।

विद्यालयबाट घर फर्कने क्रममा भागरथी लबलेक जङ्गलको खोल्सी नजिक पुग्दा दिनेशले उनीमाथि बलात्कार गर्न खोजेको र त्यसपछि हत्या गरेको पत्रकार सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । यद्यपि प्रहरी प्रारम्भिक अनुसन्धानकै क्रममा रहेको बताए ।

पत्रकार सम्मेलनमा प्रहरीले ठुलो सफलता हात लागेको दाबी गरेपनि यो घटना अझै रहस्यमय नै छ । भागरथीको पोष्टमार्टम रिपोर्टमा बलात्कार पछि हत्या भएको देखाइएको छ भने दिनेशले प्रहरी समक्ष बलात्कार नगरेको बयान दिएको प्रहरीले जनाएको छ ।

दिनेशले प्रहरीलाई दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ ।

निर्मला पन्तको हत्याका दोषीलाई सरकारले पक्राउ गर्न नसकेको भन्दै सरकार र प्रहरीको चौतर्फी आलोचना भइरहेको बेला बैतडीको यो घटनाले पछिल्लो समय सबैको ध्यान आकृष्ट गरेको थियो ।

दिनहुँका प्रदर्शनबाट आजित भएर प्रधानमन्त्री केपी ओली स्वयंले पनि भागरथी हत्या प्रकरणका दोषीलाई न्यायको कटघरामा ल्याएरै छाडने दाबी गरेका थिए । प्रधानमन्त्रीको यो भनाइ आएको केही दिन पछि अर्थात मंगलबार गृहमन्त्री राम बहादुर थापाले पनि प्रहरी दोषी नजिक पुगिसकेको दाबी गरेका थिए ।

गृहमन्त्रीले दाबी गरेको दोस्रो दिन प्रहरीले आरोपी भन्दै दिनेशलाई सार्वजनिक गरेको हो । तर दोषीले हत्या गरेको स्वीकार गरे पनि बलात्कार गरेको स्वीकार नगरेको प्रहरीको भनाईलाई मान्ने हो भने दिनेशको बयान र पोष्टमार्टम रिपोर्ट फरक फरक देखिन्छ । प्रहरीले घटनामा अन्य पनि संलग्न हुन सक्ने भन्दै अनुसन्धान जारी राखेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.