सरकार सञ्चालनमा बाधा पुर्‍याएकाले स्थिरताका लागि प्रतिनिधिसभा विघटन : प्रम ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका शीर्ष तहका केही नेताका अतृप्त आकांक्षा र कुण्ठाका कारण प्रतिनिधिसभा विघटनको अवस्था आएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको सोमबार सिंहदरबारमा उदघाटन गर्दै ओलीले आफ्नै पार्टीले सरकार सञ्चालनमा बाधा पुर्‍याएकोले स्थिरताका लागि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका हुन् ।

उनले विघटनको बाटो नलिएको भए विभिन्न समीकरण बनाउने खेल र अस्थिरताको सम्भावना देखिएको उनको जिकिर छ । जनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेर नयाँ कदम चाल्नु परेको उनले बताए ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिँदा आफूलाई उदेक लागेको ओलीले सुनाए । वैशाख १७ र २७ गते निर्वाचन हुन्छ भनिरहँदा पनि प्रतिगमन भयो भनेर अनावश्यक हल्ला चलाइएको उनले बताए ।

अब आउने निर्वाचनले प्रतिनिधिसभाको अन्तर्यमा अवश्य नै भिन्नता ल्याउने उनले दाबी गरे । ओलीले प्रतिनिधिसभा विघटन जनादेशको सम्मान भएको पनि बताए । उनले माधव नेपालप्रति ब्यङग्य गर्दै जनताबाट पराजित भएका मानिस जस्केलाबाट प्रधानमन्त्री भएको बताए ।

त्यस्तै आकांक्षाका लागि अनुचित हर्कत रोक्नु र चुनावमा जानु अलोकतान्त्रिक नभएको ओलीको जिकिर छ । गुटबन्दी, जालझेल, तिकडम लोकतान्त्रिक मूल्य मान्यता कदापि हुन नसक्ने बताउँदै उनले निर्वाचनले राष्ट्र र पार्टीलाई एकताबद्ध बनाउने जिकिर गरे ।

भ्रमको खेती गरेर पार्टीलाई नै विभाजित बनाउने काम आपराधिक गतिविधि रहेको उनले बताए । निर्वाचनले सबै पार्टीहरूलाई एकताबद्ध बनाउने उनको दाबी छ ।

Leave A Reply

Your email address will not be published.