आजदेखि तेस्रो चरणको खोप अभियान शुरु हुँदै, जनप्रतिनिधिदेखि कर्मचारी प्राथमिकतामा

0

काठमाडौं : सरकारले आइतबारदेखि तेस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलगायतले खोप लगाउने पाउने छन् ।

यस्तै सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाउने पाउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खोप लगाउन जाँदा परिचय पत्र साथमा अनिवार्य बोक्नुपर्ने छ। अहिलेसम्म २ लाखको हाराहारीमा खोप लगाइएको र थप तीन लाख डोज अझै दिन सकिने भएकाले तेस्रो चरणका लागि विभिन्न क्षेत्रका निकायलाई तोकिएको हो ।

कोरोनाविरुद्धको पहिलो चरणमा एकैपटक देशभरका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र फ्रन्टलाइमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने व्यक्तिहरुलाई लक्षित गरी माघ १४ गतेदेखि ११ दिनसम्म लगाइएको थियो ।

पहिलो चरणको खोप तोकिएका व्यक्तिहरुका लागि ४ लाख ३० हजार डोज तोकिएको भए पनि एक लाख ८७ हजार मात्र खोप खपत भएकाले सोही बचेको खोप यूएन एजेन्सी, कूटनीतिक नियोग, पत्रकारलाई दिने सरकारले निर्णयअनुसार गत सोमबारदेखि ५ दिन खोप लगाएको थियो ।

भारत सरकारले माघ ८ गते नेपाल सरकारलाई उपहार स्वरुप १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.